इलाम । एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । इलामको माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका हुन् ।
इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेका अनुसार राधिका पिताम्बरकी जेठी श्रीमती हुन् । गएराति करिब साढे १० बजेतिर बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले वताए ।
राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै ज्यान गएको एसपी घिमिरेले जानकारी दिएका हुन् । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।