१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

दलित भएकै कारण १२ वर्ष सम्म बनेन विवाह दर्ता र जन्मदर्ता

बाँकेको बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।

उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन् ।

तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनको भनाइ छ ।

‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु । श्रीमानलाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पीर छ ।’​

सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेकी छन् । ‘श्रीमानले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उहाँसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु,’ उनले भनिन्, ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ । विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन ।’

अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन् । ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हरेस खाइसकेँ कतैबाट आश्वासन आएन,’ उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ?’

सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन् । ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएनु, उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैं चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनाहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ ।’

सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन् । सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौराले मुख छोपेर भक्कानिइन् । सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आएकी छन् । दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन । तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उनीहरू सँगै बस्दै आएका छन् ।

‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ,’ नङ्गाले भनिन्, ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ । तर, पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहिनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन् ।’

बैजनाथ–४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ ।

वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्‍याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए । श्रीमान नभएको खण्डमा विवाह दर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?