कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महाकाली ब्युरोको दोस्रो बैठक सम्पन्न भएको छ । मंगलबार कञ्चनपुरमा भएको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको संगठनले बताएको छ ।
बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी ले संगठनलाई नयाँ मौलिकता सहित सुदृढ गरिरहेको बताएका छन् । हामी संगठनलाई अनिवार्य रुपमा उत्पादन , उद्योग र अन्य रचनात्मक काममा जोड्दै छौं , उपाध्यक्ष नरेन्द्रले भने । उनले भने , “ संगठनको केन्द्रीय समितिले गार्मेन्ट उद्योग सञ्चालन गर्ने योजना अगाडि बढाएको छ , र त्यो छिट्टै सञ्चालनमा आउँदै छ । देशैभरिका विभिन्न ब्युरो समितिहरूले अलग अलग योजनासहित उत्पादन कार्यमा अगाडि बढेको छ ।” विद्यामान समय नयाँ ठाउँमा उभिएको छ, आबस्यकता नयाँ तरिकाबाट अगाडि आएको र आफ्नो संगठन र पार्टीले पनि नयाँ शैलीबाट आफ्ना गतिविधि अगाडि बढाउन पर्ने उनको भनाइ थियो ।
देशको यो संकटलाई पुराना पार्टीहरुले दीर्घायु समाधान दिन नसक्ने समेत विद्यार्थी नेता नरेन्द्रले बताएका छन् । सम्बोधनका क्रममा उनले भने, “ राष्ट्रिय राजनीतिमा देखिएको समस्याको वास्तविक निकास दिने स्पष्ट खाका हाम्रो पार्टी संग छ र अन्य सबै राजनीतिक दलहरुलाई परास्त गर्नका लागि हामीले दृढ भएर पार्टी र संगठनको योजनालाई कार्यान्वयन गर्नुपर्छ ।”पार्टी र संगठनमा आवद्ध हरेक नेता कार्यकर्ता जनप्रिय हुनुपर्ने र जनताको विश्वास लाई जितेको हुनुपर्ने , त्यसो भए मात्र क्रान्तिलाई ठीक ढंगले अगाडि बढ्न सकिने उपाध्यक्ष नरेन्द्रको जिकीर छ ।
महाकाली ब्युरोको उक्त दोस्रो बैठकले ब्युरोभित्रका सबै जिल्लाका सम्मेलन भदौ १५ भित्र गरिसक्ने , उत्पादन कार्य अगाडि बढाउने ,विद्यार्थी संग अखिल क्रान्तिकारी नामक सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको संगठनका महाकाली ब्युरो इन्चार्ज शंकर सी ले बताए ।

शंकर सीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी, नेकपा केन्दीय स्कुकिङ विभाग सदस्य वीरेन्द्र सी,नेकपा कञ्चनपुर जिल्ला सदस्य कमल सी, युवा संगठन नेपाल कञ्चनपुरका अध्यक्ष भरत सी लगायत संगठनका केन्द्रीय सदस्यहरु र ब्युरो सदस्यहरुको सहभागिता रहेको थियो ।














