भक्तपुर । वीर अस्पतालको १३६औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर सुर्यविनायक नगरपालिकाको वडा नं. ७, गणेश, भक्तपुरमा सञ्चालन हुने भएको छ।
नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार, वीर अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा सहभागी भएर विविध स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्नेछन्। शिविर यही साउन ९ गते (शुक्रबार) बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म हिमालय एकेडेमी, सुर्यविनायक–७, गणेश, भक्तपुरमा आयोजना गरिएको हो।
शिविरमा सामान्य चिकित्सा, मुटु रोग, नसासम्बन्धी रोग, मधुमेह तथा थाइराइड, शल्यक्रिया, आँखाको जाँच, दन्त सेवा, प्रयोगशाला परीक्षण, ई.सी.जी., मानसिक स्वास्थ्य, छाला रोग, क्यान्सर, स्त्रीरोग, बालरोग, मूत्ररोग, पेडियाट्रिक्स, ENT, औषधी वितरण, व्यथा दु:खाइ क्लिनिक (Pain Clinic) लगायतका २६ वटा प्रमुख स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
नगर प्रवक्ता सापकोटाले वडावासीहरूलाई यस अवसरको भरपुर उपयोग गर्न आग्रह गर्दै भने, “यस शिविरले स्वास्थ्य परीक्षणका लागि खर्च गर्न नसक्ने नागरिकलाई ठूलो राहत दिनेछ। हामीले वीर अस्पतालसँग सहकार्य गरेर यो अभियान सञ्चालन गरेका छौं।”
शिविरमा नियमित औषधी सेवन गरिरहेका बिरामीलाई आफ्नो पुराना रिपोर्ट तथा औषधी सूची लिएर जान पनि अनुरोध गरिएको छ।
कार्यक्रम वीर अस्पताल, महाबौद्ध, काठमाडौंको आयोजनामा तथा सुर्यविनायक नगरपालिकाको समन्वय र सहयोगमा सञ्चालन गरिनेछ।















