भक्तपुर, असार १९: बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कमलविनायक, भक्तपुरले आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
२०८२ साल असार १९ गते विहान ७:३० बजे कमलविनायकस्थित चिकित्सालयको परिसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य आयुर्वेद सेवाबारे जानकारी गराउनुका साथै यस सेवाको प्रभावकारिता, पहुँच र समसामयिक आवश्यकता बारे संवाद गर्नु रहेको थियो।
कार्यक्रममा चिकित्सालयका प्रमुख, आयुर्वेद विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूले आयुर्वेद उपचार पद्धति, यसको वैज्ञानिक पक्ष र दैनिक जीवनमा यसको महत्वबारे प्रकाश पारेका थिए। साथै, पत्रकारहरूले समेत आम नागरिकलाई आयुर्वेदबारे जानकारी पुर्याउने माध्यमको रूपमा सञ्चार क्षेत्रले खेल्न सक्ने भूमिकाबारे आफ्नो धारणा राखेका थिए।
आयोजक संस्था आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कमलविनायकका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिई जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।



