२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

मखन गल्लीमा ग्याँस विस्फोटपछि आगलागी, एक वृद्धा महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस विस्फोट भएपछि आगलागी हुँदा एक वृद्धा महिलाको ज्यान गएको छ।

बुधबार बिहान ६ बजेर ५० मिनेट जाँदा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले घरमा ग्यास विस्फोट भई आगलागी भएको हो। घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र प्रारम्भिक अनुसन्धान अनुसार आगलागीको कारण खाना पकाउने ग्याँस विस्फोट नै भएको पुष्टि भएको छ।

आगलागीमा परेर सोही घरको चौथो तलामा बस्दै आएकी करिब ६५ वर्षीया एक वृद्धा महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिए। मृतक महिलाको नाम खुलाइएको छैन तर उनी दोलखाको चरिकोट क्षेत्रकी स्थानीय भएको र मखन क्षेत्रमा ‘चरिकोटे बुढी’ भनेर चिनिने गरेको बताइएको छ।

प्रहरीका अनुसार आगो लागेपछि उनी घरभित्रै निसास्सिएर ज्यान गुमाएकी हुन्। दयाराम श्रेष्ठको घरबाट फैलिएको आगो छेउको रुकेश श्रेष्ठको घरमा समेत फैलिएको थियो।

घटनाको जानकारी पाएपछि काठमाडौँ उपत्यका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी स्वयं घटनास्थलमा पुगेका थिए। आगो नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा ६ वटा दमकल परिचालन गरिएको थियो। आगो बिहान सवा ८ बजे नियन्त्रणमा आएको थियो।

प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्दको नेतृत्वमा गएको टोलीले आगलागीमा परेका तीन जनाको सफल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा एक महिला, एक पुरुष र एक बालक रहेका छन्।

प्रहरीले आगलागीको थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?