भक्तपुर – सूर्यविनायक नगरपालिका–९ काँक्रावारीस्थित घिसिङ डाँडामा निक भुजिकिक हाउजिङ कम्पनीले अवैध रूपमा प्लटिङ्ग गर्दै वन क्षेत्र र स्थानीय बस्तीलाई गम्भीर संकटमा पारेको स्थानीयवासीहरूको गुनासो छ।
दैनिक ३० वटा डोजर प्रयोग गर्दै सामुदायिक वन, खोल्साखोल्सी, खानेपानीको मूल, पाइपलाइन मासिँदै गर्दा सम्बन्धित निकायहरू मौन बसेको आरोप लागिरहेको छ।
डोजरले बगायो जीवनरेखा
कम्पनीको डोजरले खोल्साखोल्सी पुरिएको, पाइपलाइन काटिएको र खानेपानीको स्रोतमा क्षति पुर्याएको जनाइएको छ। खोल्साखोल्सी थुनिँदा बाढीको उच्च जोखिममा लामाटोल क्षेत्र परेको छ।
स्थानीय बासिन्दा बताउँछन्, “सहमति विना व्यक्तिको घरसम्म खनेर बसोबास स्थानान्तरण गर्न बाध्य बनाइएको छ।”
वनजंगलमाथि खुला अतिक्रमण
सुन्दर गाउँ बनाउने नाममा हाउजिङ कम्पनीले सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेको छ। जैविक विविधता र वातावरणमा दीर्घकालीन असर पर्ने स्थानीयको ठम्याइ छ।
स्थानीय संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर तामाङ भन्छन्, “न्यायको माग गर्दै सम्बन्धित निकायहरूमा ज्ञापनपत्र बुझाएका थियौं, तर अहिलेसम्म सुनुवाइ भएको छैन।”
‘पावरवालालाई छुट, हामीलाई ऐन?’
स्थानीयको प्रश्न छ — “पावर र पहुँचवालाले जे गरे पनि हुने, कानुन केवल सानालाई मात्र किन लाग्ने?”
सञ्चारमाध्यममार्फत खबरदारी गर्नुपर्ने बाध्यता आएको भन्दै स्थानीयले अब सडकमा उत्रिने चेतावनी दिएका छन्।
सम्बन्धित निकायहरू– जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, नगरपालिका र वडा कार्यालय– सबैलाई स्थानीयले ध्यानाकर्षण गराइसकेका छन्। तर कारबाही शून्य छ।
स्थानीयले तत्काल प्लटिङ्ग कार्य रोक्न, वन तथा पर्यावरणको संरक्षण गर्न र हाउजिङ कम्पनी तथा संलग्न निकायमाथि कारबाही गर्न माग गरेका छन्। अनसुनी भए आन्दोलन तीव्र पारिने चेतावनी पनि दिइएको छ।