भक्तपुर। राजावादी समूहको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याको विरोध गर्दै भक्तपुरका सबै पत्रकार संगठनहरू एकजुट भएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विभिन्न पत्रकार संघ संगठनका प्रतिनिधिहरूले महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारको हत्यामा संलग्न अपराधीलाई कारबाही नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो। उहाँले सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुका साथै उनलाई सहिद घोषणा गर्नुपर्ने माग गर्नुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघका सल्लाहकार पुष्करराज बुढाथोकीले पत्रकारहरूको पेशागत हकअधिकार सुरक्षाका लागि महासंघ निरन्तर लड्नुपर्ने बताउनुभयो।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्यहरू तथा नेपाल प्रेस युनियन भक्तपुर ,प्रेस सेन्टर नेपाल भक्तपुर ,जनजाति पत्रकार महासङ्घ भक्तपुर ,राष्ट्रिय सञ्चार केन्द्र भक्तपुर, र जनपत्रकार सँगठन भक्तपुर का अध्यक्ष लगायत सङ्गठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी पत्रकार संगठनका प्रतिनिधिहरूले सुरेश रजक को न्याए सहित सम्पूर्ण पत्रकारहरूको सुरक्षाका लागि सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्दै आवश्यक परे थप संघर्ष गर्ने चेतावनी दिएका छन्।














