२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नेपाल सरकारको आम्दानी भन्दा खर्च बढी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा रु सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ । जसमध्ये चालु खर्च रु पाँच खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च रु ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च रु एक खर्ब ६३ अर्ब ८१ करोड रहेको छ ।

यस बर्ष सरकारको आम्दानी भन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने रु साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ ।
यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने रु छ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व रु पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रहेको छ ।

यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा रु तीन खर्ब ५० अर्ब सात करोड नगद मौज्दात रहेको छ । यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो । गत असार मसान्तसम्ममा सरकारी खातामा रु ८३ अर्ब ९९ करोड मौज्दात रहेको थियो ।

चालु आवको सात महिनामा प्रदेश सरकारको कूल खर्च रु ५१ अर्ब ९० करोड र स्रोत परिचालन रु एक खर्ब एक अर्ब ८९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु २० अर्ब ९५ करोड रहेको छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय चार प्रतिशतभन्दा बढीले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १० दशमलव एक प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?