काठमाडौं । नेपाली विद्यार्थीलाई ठगेर पैसा पठाउँदा पनि कास लेटर नदिएको रियल ड्रिम्स कन्सल्टेन्सीले नेपाल सरकारलाई समेत ठगेको पाइएको छ । युकेको लण्डनमा केन्द्रीय कार्यालय रहेको रियल ड्रिम्सले विद्यार्थी पठाएबापत पाउनु पर्ने रकम नेपाल नल्याएर नेपाल सरकारलाई समेत ठगेको हो ।
नेपालमै केन्द्रीय कार्यालय रहेका शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थी पठाए वाफत पाउने कमिसन विश्वविद्यालयले सिधै कम्पनीको खातामा जम्मा गरिदिने गर्दछन । तर यो कम्पनीको भने सम्पूर्ण कारोबार युकेमै हुने भएकाले विश्वविद्यालयले युकेकै खातामा जम्मा गरिदिने गरेका छन् । नेपालबाट एउटा विद्यार्थी पठाए वाफत विश्वविद्यालय तथा कलेजले १५ देखि २५ प्रतिशतसम्म कमिसन दिने गरेका छन् । ट्युसन फि – को मोटामाटी २० प्रतिशतका दरले हिसाव गर्दा एक जना विद्यार्थी बराबर ४ लाख नेपाली रुपैयाँ कमिसनका रुपमा कन्सल्टेन्सीले पाउने गरेका छन् । त्यो रकम नेपाल नल्याएर रियल ड्रिम्स रेमिट्यान्स, मूल्य अभिवृद्धि कर, टिडिएस र आयकर छली गर्दै नेपाल सरकारलाई ठग्ने गरेको हो ।
यो कन्सल्टेन्सीले बर्षमा ५ सयभन्दा बढी विद्यार्थीलाई बेलायत पठाउने गरेको छ । करिब ५ सय विद्यार्थीको हिसाव गर्दा यो कन्सल्टेन्सी नेपाल सरकारलाई लगभग २० करोडको रेमिट्यान्स, कर, मूल्य अभिवृद्धि, डिडिएस र आयकर गरेर ५ करोडभन्दा धेरै करछली गर्ने गरेको प्रमाण युग प्रेसलाई प्राप्त भएको छ । रियल ड्रिम्सका नेपालमा रहेका शाखाहरु काठमाडौं, बुटवल, चितवन र पोखरा विद्यार्थीबाट उठाएको सर्भिस चार्जबाट चल्ने गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार कार्यालय प्रयोजनका लागि बाहेक युकेबाट रियल ड्रिम्सका नेपालस्थित शाखाबाट रकम आउने गरेको छैन । तर रियल ड्रिम्सभन्दा बाहिरका शैक्षिक परामर्श व्यवसायीलाई भने ३० प्रतिशत कमिसन कटाएर सिधै कन्सल्टेन्सीको खातामा पठाउने गरेको बताइन्छ । यो कन्सल्टेन्सीका योर्क सेन्टजोर्न युनिभर्सिटी, युनिभर्सिटी अफ वर्सेस्टर, युनिभर्सिटी अफ इस्ट लण्डन रहेका छन् । यी विश्वविद्यालयका नेपालबाट विद्यार्थी पठाउँदा रियल ड्रिम्सलाई अटोमेटिक कमिसन जाने गरेको छ ।
रियल ड्रिम्सका प्रवन्ध निर्देशक वसन्त नेपालले आफ्नो केन्द्रीय कार्यालय बेलायतमा रहेको र विश्वविद्यालयसँग लण्डनकै कार्यालयले सम्झौता गरेको स्वीकारे । युग प्रेस टिमसँगको भेटमा नेपालले आफूले ३० प्रतिशत कमिसन राख्नु कुनै अपराध नभएको बताए । ‘हामी नेपालीले युकेमा पनि व्यापार गर्न पाउँछौं । म पिआर होल्डर हो, मेरो परिवार त्यहाँकै नागरिक हौं ।’,उनले भने,हामीले युकेमा कानुनसम्मत कर तिरेका छौं । नेपालमा त शाखा कार्यालयहरु मात्र छन् । उनीहरुले आफ्नो आम्दानी अनुसारको कर तिरेका छन् ।’
साथै उनले विश्वविद्यालयले दिने सबै रकम नेपाल नआउने पनि स्वीकारेका छन् । ‘हामीले व्यापार गर्ने हो । व्यापार गरेर बापत कानुन अनुसार राज्यलाई कर तिर्नुपर्छ । मैले तिरेको पनि छु ।’उनले भने,‘तर मलाई नेपालमा व्यापार गर्न कुनै बाध्यता छैन । मैले नेपालकै लागि सेवा गरेको छु । म नेपालमा यो व्यापार नगर्न पनि सक्छु । भारत लगायत अन्यदेशबाट विद्यार्थी लगेर पनि मेरो व्यापार चल्छ ।