काठमाडौं । कोरियन एजुकेशनल कन्सल्टेन्सी एशोसियसन अफ नेपाल (केक्यान) का अध्यक्ष गणेश शर्मा करछली धन्दामा लागेको पाइएको छ । एसडि मिराकल एजुकेशनल कन्सल्टेन्सीका संचालकसमेत रहेका शर्माले कन्सल्टेन्सीबाट विद्यार्थीलाई उपलब्ध गराउने बिल नक्कली बनाएर करछली गरेको पाइएको हो ।
युगप्रेस डटकमलाई प्राप्त बिलअनुसार विद्यार्थीलाई प्रोसेसिङ चार्जमार्फत २० हजार रुपैयाँ तिराएको छ । आर्थिक ऐन तथा मूल्य अभिवृद्धि कर ऐन अनुसार कुनैपनि प्रकृतिका व्यक्ति (संस्था, कम्पनी) ले अनिवार्य करविजक जारी गर्नुपर्छ । शैक्षिक परामर्श व्यवसायीले अनिवार्य मुल्यअभिवृद्धि करमा दर्ता भएर कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ तर एसडि मिराकलका शर्माले एउटा संस्थाको अध्यक्ष भएको शक्ति देखाउँदै नक्कली बिल बनाएर करछली गरिरहेका छन् ।
एसडि मिराकलले काटेको बिलमा प्रोसेसिङ चार्ज भनेर सिधै २० हजार रुपैयाँको बिल काटेर विद्यार्थीलाई थमाएको छ । यसले प्रोसेडिङको अलवा डकुमेन्टेशन चार्ज र सर्भिस चार्ज भनेर २ लाखसम्म अशुली गर्ने गरेको तथ्य पनि बाहिरिएको छ । यसरी हेर्दा यो कन्सल्टेन्सीले राज्यलाई बर्षको करौडौं रकम करछली गरेको बुझिन्छ । २० हजारको बिल काट्दा १३ प्रतिशत भ्याटको २३ सय १ र १.५ प्रतिशत टिडिएसको २ सय ४ रुपैयाँ गरि जम्मा २५ सय ५ रुपैयाँ राज्यलाई बुझाउनु पर्ने हो । तर एसडि मिराकलले ५ सयभन्दा धेरै विद्यार्थीबाट १२ लाख ५० हजारभन्दा बढी भ्याट र टिडिएर छली गरेको छ । साथै, सर्भिस चार्ज लिँदा उसले बिल वा रसिद केही पनि नदिएर पैसा मात्र बुझ्ने गरेको छ । भिसा लागेका विद्यार्थीबाट उठाउने यो रकम कुनै पनि निकायमा देखिदैन ।
सर्भिस चार्जबापत यो कन्सल्टेन्सीले ५ सय विद्यार्थीबाट बर्षमा १० करोड हाराहारीमा पैसा उठाउँदा राज्यलाई साढे दुई करोड करछली हुने गरेको छ । श्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा एक जना अधिकृत स्तरका कर्मचारी देखाएर यो रकम उठाउने गरेको शर्मा निकट श्रोतको भनाई छ । साथै, उनले विश्वविद्यालयबाट लिने कमिसनमा समेत कर नतिर्ने गरेको बताइन्छ ।
यस विषयमा बुझ्न खोज्दा एसडि मिराकलका संचालक गणेश शर्मा सम्पर्कमा आएनन् । उनलाई एसडि मिराकलले विद्यार्थीलाई दिएको रसिदसहित सम्पर्क गरेर के भएको हो भनेर बु्झ्दा यस विषयमा केही पनि बोल्न चाहेनन् । उनी सम्पर्कमा आएको खण्डमा यस विषयको विस्तृत समाचार पुनः प्रकाशन गर्नेछौं ।



