काठमाडौं । कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ’धम्मासय’को खुलेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सो केन्द्रको उद्घाटन गरे ।
कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै त्यहाँ ४८ कैदी बन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन हुनेछ । यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ । नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको जनाइएको छ ।
ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए ।
अग्रज रुपचन्द्र विष्टले आफूसँगको कुराकानीमा ’मानिसहरू सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको’ बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने धारणा राखे ।
कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रुप ज्योतिले मन शुद्ध भए मात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए ।