काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाइरहेका छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

यस अवसरमा विहिबार राजधानीको जामे मस्जित र काश्मिरी मस्जितमा नमाज पढ्ने इस्लामा धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।















