काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने भएको छ ।
निकुञ्जले एक सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने,जंगलमा भएका स–साना खोला,खोल्सीमा भलबाढी आउने,रूख लडेर बाटो अवरूद्ध हुने भएकोले सफारी बन्द गर्ने लागेको जानकारि दिएको हो ।
मानवीय क्षति नहोस् भन्ने हेतुले डुंगा सफारी बन्द गर्न लागिएको बताएको छ ।
वर्षाको मौसमलाई मध्यनजर गर्दै चितवन निकुञ्जले हरेक वर्ष केही समय यी गतिविधि बन्द गर्ने गर्छ । वनपथहरूमा जाेखिम मत्थर भएपछि पुनः पर्यटन गतिविधिहरू सुरू हुन्छ ।
यस आर्थिक वर्षको जेठसम्ममा चितवन निकुञ्जले पर्यापर्यटनको राजस्व वापत २२ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। जिप सफारीबाट ४ करोड ७३ लाख ८५ हजार र डुंगा सफारीबाट ३ लाख ५६ हजार राजश्व संकलन गरेको थियो। जेठसम्ममा २ लाख ८८ हजार ३५९ जना पर्यटकहरू चितवन निकुञ्ज प्रवेश गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
निकुञ्ज प्रवेश गर्ने पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो ।














