भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साहित्य जनताको चेतना जगाउने हतियार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममार्फत आफ्ना जेल जीवनका अनुभव समेटिएको पुस्तक ‘जेलका चिठ्ठीहरू’ को अंग्रेजी संस्करण विमोचन गर्दै उनले साहित्य जनताको पक्षमा उभिनुपर्ने बताए ।
उनले भने,“साहित्य जनतालाई बुझाउने माध्यम हुनुपर्छ । जनतालाई जगाउने,सचेत गराउने र संगठित गर्ने शक्तिशाली माध्यम साहित्य हो ।”
स्वर्गीय श्रीमती शोभा प्रधानलाई लेखिएका झण्डै दुई दर्जन चिठ्ठीहरूको संग्रह रहेको यो पुस्तक झन्डै एक दशकअघि नेपालीमा प्रकाशित भइसकेको थियो । अहिले लेखक तथा अनुवादक अणुराज जोशीको शब्दमा अनूदित अंग्रेजी संस्करण । को विमोचन गरिएको हो ।
विजुक्छेले स्मरण गरे–
“पञ्चायती दमनको त्यो कालखण्डमा भक्तपुर काण्डपछि प्रशासकीय उत्पीडन यस्तो थियो कि पूरै सहरमा पुरुषहरू हराएजस्तै भए। १८ महिनाको जेल बसाइँमा मेरो घरभित्र दुईजना मात्र पुरुष पस्न पाए – एक चिकित्सक, अर्को भेष बदलेका मित्र ।”
२०४५ सालमा पञ्चायती शासनविरुद्धको राजनीतिक अभियानका क्रममा उनीसहित ६८ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । २०४७ सालको जनआन्दोलनले मात्र उनीहरूलाई रिहा गरायो ।
विमोचन कार्यक्रममा उनका भाइ योगेन्द्रमान विजुक्छे (भक्तपुर नगरपालिका–५ का वडा अध्यक्ष), छोरा डा. सुवेगमान विजुक्छे (ख्वप इन्जिनियरिङ कलेजका भाइस प्रिन्सिपल), प्रदेश सांसदहरू सुरेन्द्रराज गोसाई, सजना सैंजू, वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्र,कवि नरेन्द्र प्रसाई,इन्दिरा प्रसाई,अभय श्रेष्ठ, प्राध्यापक शशी कसपाल, नवराज बुढाथोकीलगायतले सन् १९८० को दशकको त्यो कठोर समय सम्झिए ।
कार्यक्रममा विजुक्छेले अनुवादक अणुराज जोशी,रिडमोर पब्लिकेशनका आशष श्रेष्ठ र कभर डिजाइनर दामोदर सुवाललाई मायाको चिनो प्रदान गरे।
कार्यक्रमको सभापतित्व वरिष्ठ शिक्षासेवी तथा बाल विकास माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले गरेका थिए। पुस्तकको प्रकाशन बाल विकास माध्यमिक विद्यालय, लिवाली भक्तपुरले गरेको हो।
दुई सय २४ पृष्ठको पुस्तकको मूल्य चार सय रुपैयाँ (तीन अमेरिकी डलर) तोकिएको छ। आयोजकका अनुसार, पुस्तक नयाँ पुस्ताका लागि एउटा ऐतिहासिक दस्तावेज बन्ने विश्वास गरिएको छ।














