काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षक नै कुटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शनिवार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१०, बिजुलीबजारस्थित आन्दोलन स्थलमा कैलाली धनगढी उपमहानगरपालिका–१ घर भई काठमाडौं–३१ आलोकनगरमा बसोबास गर्दै आएका ५४ वर्षीय शिक्षक केशव राज जोशीमाथि कुटपिट भएको हो ।
जोशी श्री दुर्गा आधारभूत माध्यमिक विद्यालय, धनगढीमा अध्यापन गराउँछन्। उनी करिब १५–२० जना शिक्षकको समूहसँग मतभेद परेपछि कुटपिटको सिकार भएका हुन् । घटनापछि प्रहरीले जोशीलाई उद्धार गरी सिभिल अस्पतालमा भर्ना गराएको छ । उनको टाउकोमा चोट लागेको छ भने शरीरका विभिन्न भागमा पनि चोटपटक लागेको छ । हाल उनको उपचार भइरहेको छ । शिक्षक आन्दोलनले राजधानीमा थप तनाव सिर्जना भएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ














