काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उहाँहरुबीच आज अपरान्ह संक्षिप्त भेटघाट भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री भेट्न साढे ३ बजे प्रधानमन्त्री कार्यालय पुग्नुभएका नेपाल पाँच मीनेटमै त्यहाँबाट बाहिरिएको बताईएको छ। माधवसँगको छोटो भेटलगत्तै प्रधानमन्त्री प्रचण्ड दुखेको दाँतको परीक्षण र उपचारका लागि वीर अस्पताल पुगेका थिए ।
जनता समाजवादी पार्टी (जसपा),नेपालको विभाजन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिपछि सरकारमा एकीकृत समाजवादीको सहभागिताबारे अनेक चर्चा परिचर्चा भइरहेको छ । आफू प्रधानमन्त्री हुने योजनाका साथ माधवले काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन खोजेको र त्यहि पृष्ठभूमिमा जसपा फुटेको एमालेको दाबी छ ।
सोही कारण पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवबीच सम्बन्ध चिसिएको कतिपयले अनुमान गरिरहँदा पाँच मीनेटको यो भेटघाटलाई चासोका साथ हेरिएको छ ।














