५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

मित्रता माविमा पढ्दै कमाउँदै कार्यक्रम : ‘विद्यार्थीहरू फूलखेतीमा’

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा रहेको मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् ।

विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको हो । यहाँ दुई प्रजातिका फूल रोपिएको थियो । कर्मा पाँच सय ५५ र टिटी प्रजातिका फूल रोपिएकोमा सबै फूल बिक्रीका लागि तयार भएको विद्यार्थी पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, ‘हाम्रो प्रयोगात्मक र ओजीटी अन्तर्गत सयपत्री फूल उत्पादन गरेका हौँ, यसका लागि गाउँपालिकाले हामीलाई प्रोत्साहन गर्‍यो ।’

यहाँ १० हजार फूल उत्पादन भएका छन् । विद्यार्थी विकका अनुसार तीन महिना अगाडि फूल रोपिएको थियो । त्यसक्रममा उहाँहरूले छ पटक फूलको गोडमेल गर्नुभएको थियो । ‘जग्गा जोत्ने, बिरुवा जमाउने, मल हाल्ने सबै काम हामीले नै गरेका छौँ’, उहाँले भन्नुभयो । फूलखेतीका लागि आँबुखैरेनी गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको थियो । विद्यार्थी विकले आफूहरूको प्रयोगात्मक शिक्षणअन्तर्गत फूलखेतीका लागि गाउँपालिकाले प्रोत्साहन गरेकोमा खुशी लागेको बताउनुभयो ।

उत्पादन भएका फूलको बिक्री शुरु भइसकेको छ । पौडेलका अनुसार फूल खरिदका लागि व्यापारी फूलबारीसम्मै आउने गरेको जनाउँदै ठूलो सङ्ख्यामा बिक्रीका लागि पालिकासँग समन्वय गरिने बताउनुभयो । उहाँका अनुसार तिहारका लागि पाँच लाख रुपैयाँको फूल बिक्री गर्ने योजना रहेको छ ।

माला तीन सयमा र फूल प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको उहाँले बताउनुभयो । समय र मौसमका कारण कतिपय फूल छिटो फुलिदिँदा समस्या भएको जनाउँदै उहाँले समयको व्यवस्थापन गरेर मात्रै फूलखेती गर्नुपर्ने पाठ सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फूल छिटो फुलेर समस्या हुने रहेछ, त्यसका लागि चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्था मिलाएका छौँ ।’

गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यसै वर्षदेखि सयपत्रीको व्यावसायिक उत्पादनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार मित्रता माध्यमिक विद्यालय, त्यही वडाको यान्चोक आमा समूह र आँधीमूल आमा समूहमार्फत सयपत्री फूलखेती शुरु गरिएको थियो ।

अहिले ३० हजार सयपत्री फूल फुलेको जनाउँदै यसको बजार व्यवस्थापनका लागि पालिकाले समन्वय गरेको चुमानले बताउनुभयो । ‘तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएका छौँ’, उहाँले भन्नुभयो, ‘यसका साथै छिमेकी पालिकासँग पनि समन्वय गरी बिक्रीको व्यवस्था मिलाउँछौँ ।’

गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो, ‘पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छाैँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।’ चुमानका अनुसार सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको छ । यसको आयात प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत फूलखेतीमा सहयोग गरेको थियो । आमा समूहमार्फत गरिएको फूल पनि उत्पादन भई बिक्री शुरु भइसकेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो पाँच सय रुपैयाँसम्म बिक्री हुन्छ । अहिलेलाई भने स्थानीयस्तरमा किलोको दुई सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै एउटा माला ८० रुपैयाँसम्म बिक्री हुन्छ । दुई समूहबाट गरी यस वर्ष दश लाख रुपैयाँ बराबरको फूल बिक्री हुने अनुमान गरिएको छ । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । कृषि शाखा प्रमुख केसीले भन्नुभयो, ‘फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ, आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पुर्‍याउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?