काठमाण्डौं : केही समय अगाडि संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल उर्फ ‘रिगल’विरुद्ध परेको मुद्दाको सुुनुवाइ सकिएको छ । नेपालगञ्जका चेतन मानन्धरको खुडा हानि हत्या अभियोगमा जेल जीवन काटिरहेका रिगलको आममाफीविरुद्ध चेतनपत्नी भारती मानन्धरले उनलाई जेलमा राख्न माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।
रिगलविरुद्धको मुद्दामा मंगलबारबाट सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र डा। कुमार चुँडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।
रिगलविरुद्धको मुद्दाका सबै सुनुुवाइ सकिएसँगै बिहीबार अन्तिम फैसला आउने रिट निवेदकमध्येका एक बहसकर्ता समेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
‘सबै सुनुुवाई सकिएको छ । त्यसको निर्णय भोलि सुनाउने निर्णय भएको छ ।’ पौडेलले भने । यसअघि मंगलबार सरकारी पक्षबाट महान्यायाधीवक्तासहित सहन्यायाधीवक्ताद्वय विश्वराज कोइराला र सन्जीवराज रेग्मीले समेत बहस गरेका थिए ।
त्यसको साथै हिजो नै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता देवराज कटुवालले समेत उक्त मुद्दामा बहस गरेका थिए । रिगलले २०७२ साल असारमा चेतनको हत्या गरेका थिए । सर्वस्वसहित जन्मकैद सजाय पाएका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए ।