काठमाडौँ । एक साताको तुलनामा बिहीवार काठमाडौँमा करीव ६ गुणाले कम तरकारी आपूर्ति भएको छ ।
उपत्यकामा तरकारी आपूर्तिको करीव एक तिहाई हिस्सा ओगट्ने कालीमाटी तरकारी बजारमा बिहीवार एक लाख १० हजार २३१ किलो मात्र तरकारी भित्रिएको छ । जसको मुख्य कारण दशैं बिदामा मानिसहरू बाहिरिनु हो ।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ,दशैँ बिदा शुरु हुनुअघि कात्तिक ३ गते छ लाख ३६ हजार ४३५ किलो तरकारी कालीमाटी बजारमा भित्रिएको छ ।
नेपालीको प्रमुख ठूलो चाड दशैँमा उपत्यकाबाट लाखौँको संख्यामा सर्वसाधारण बाहिरिने भएपछि व्यापारीहरुले काठमाडौँ खाली हुने क्रम बढेसँगै तरकारी आपूर्ति कम गर्ने गरेको समितिले जनाएको छ ।
समितिको तथ्याङ्क अनुसार कात्तिक ३ गतेको आपूर्ति नै पछिल्लो दश दिन यताको अधिकतम आपूर्ति हो । त्यसयता क्रमशः घट्दो क्रममा रहँदा बुधवारको आपूर्ति सबैभन्दा कम हो ।
कालीमाटी बजारमा कात्तिक ४ गते चार लाख ७९ हजार, ५ गते चार लाख ५६ हजार, छ गते ३ लाख ६२ हजार, ७ गते एक लाख ७८ हजार र ८ गते दुई लाख १७ हजार किलो तरकारी भित्रिएको छ ।
बिहीवार कालीमाटी बजारमा भित्रिएको तरकारीजन्य उत्पादनमध्ये करीब ८४ हजार किलो तरकारी, १४ हजार ५६५ किलो फलफुल, तीन हजार दुई सय किलो मसलाजन्य उत्पादन र आठ हजार ५५८ किलो माछा भित्रिएको छ।














