काठमाडौं । देशका धेरै ठाउँमा रातभर ठूलो पानी परेको छ । सोमबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित भएको छ । बिहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भाेलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
बाढी सूचना केन्द्रले धनकुटा,गोरखा,लमजुङ,कास्की,तनहुँ र पाल्पा आसपासका क्षेत्रमा मध्यमदेखि भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।
पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा १ सय ८ र चितवनको देवघाटमा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा ८३,नवलपुरमा ७०,इलाममा ३५,धनकुटामा ३०,काठमाडौंको कीर्तिपुरमा ६०,लमजुङमा ६०,अर्घाखाँचीमा ३५,दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ । कास्की,लमजुङ,गोरखा,पाल्पा, तनहुँ, लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।