कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ११ स्थित हुनैनाथ टोल स्थित आदर्श विकास युवा क्लबका अध्यक्ष रहेका नरेन्द्र सार्कीले आफ्नो जन्मदिनको अवसरमा सामुदायिक पुस्तकालय स्थापना गरेका छन । अध्यक्ष सार्कीले आफ्नो जन्मदिन वाफत खर्च हुने रकम बचत गरी केही पुस्तक र सामानहरू जम्मा गरेर सामुदायिक पुस्तकालय खोल्ने सुरुवात गरेका हुन् ।

हिजो ( शुक्रबार ) उक्त पुस्तकालयको भिनापा ११ का वडा अध्यक्ष प्रकाश थापाले उदघाटन गरेका थिए ।

‘पछिल्लो समय मानिसहरूले हजारौं पैसा खर्च गरेर ठूला ठूला खानपिनमा फजुल गर्ने गरेका छन , यो भन्दा मानिसको अशिक्षालाई हटाउनु शिक्षामा सुधार गर्नु जरुरी छ र त्यसका लागि पुस्तकालय अनिवार्य भएको कारण आफूले पुस्तकालय खोल्ने कार्य गरेको क्लबका अध्यक्ष नरेद्रले बताए । उनले भने ,“अहिले केही सानो मात्रा बाट सुरुवात गरेका छौं भोलिका दिनमा यस सामुदायिक पुस्तकालयलाई चलाउने काम हाम्रो आदर्श विकास युवा क्लब अन्तर्गत नै हुनेछ । बिस्तारै यसमा पुस्तकको संख्या बढाउँदै लैजान्छौ ।”
उक्त सामुदायिक पुस्तकालयका लागि वडा नं ११ ले दराज लगायतका केही सामानहरु समेत सहयोग गरेको अध्यक्ष सार्कीले बताए । यस्तै आदर्श विकास युवा क्लबले लामो समय देखि बालबालिकालाई निःशुल्क पठन पाठन गराउने देखि खेलकुदमा सहभागी गराउने सम्मका कार्य गराउँदै आएको छ ।
पुस्तकालयको उदघाटन कार्यक्रममा प्रमुख अतिथिमा भीनपा ११ का अध्यक्ष प्रकाश थापा , अतिथिहरुमा वडा सदस्य रोजिना शाहि पाठक, आरवि टेक्निकल इन्स्टिच्युटका प्रिन्सिपल हिक्मत बुढा , देवल इन्स्टिच्युट अफ टेक्नोलोजीका फाउन्डर राम सार्की लगायतको सहभागिता रहेको थियो ।



