कञ्चनपुर , भदौ ०१ : नेपाल सिएमए संघ कञ्चनपुरको क्लिनिक खोल्न पाउनुपर्ने माग सहित संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मागपत्र बुझाउने भएका छन् । शुक्रबार जिल्लाको महेन्द्रनगरमा भएको संघको जिल्ला भेला तथा प्रभातफेरी कार्यक्रम बाट संघले सो निर्णय गरेको हो ।
सीएमए संघ कञ्चनपुरका अध्यक्ष तिलक जोशीले सीएमए अध्ययन गरेकाहरुलाई मेडिकल काउन्सिलले चिकित्सकको मान्यता दिँदा पनि अहिले क्लिनिक खोल्न नदिने कार्य असान्दर्भिक रहेका बताए । कञ्चनपुरमा प्रहरीले गैरन्यायिक तरिकाले स्वास्थ्यकर्मी माथि आक्रमण भएको उनको भनाइ छ । आफूहरुले कानुन दायरामा रही राज्यले क्लिनिक खोल्न दिई जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने अध्क्षय जोशीको माग छ । उनले भने ,“ हामी सीएमए चिकित्सकलाई क्लिनिक खोल्न पाउनुपर्छ । यसको लागि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मागपत्र बुझाउने र जिल्लामा रहेका स्वास्थ्य संग सरोकार राख्ने संघ संगठन लगायत सरकारी निकायसँग छलफल गरी निष्कर्ष निकाल्ने निर्णय गरेका छौं ।”
कञ्चनपुरको जिल्ला समन्वय समितिको सभाहलमा भएँको उक्त भेलामा प्रमुख अतिथिका रूपमा सहभागी प्रतिनिधि सभा सदस्य रमेश लेखकले स्वास्थ्यकर्मीका जायज मागलाई मन्त्रालय पुर्याउन पूर्ण रुपमा सहयोग गर्ने बताएका छन ।
बिरामीको चेकचाजका साथै औषधि बिक्री वितरण गर्न पाउने सीएमए सँगको माग रहेको छ । पछिल्लो समयमा कञ्चनपुरमा दर्ता नभएको भन्दै केही सिएमए चिकित्सकले खोलेका क्लिनिक प्रहरीले बन्द गरेको थियो भने केहीलाई पक्राउ समेत गरेको थियो ।
सीएमए संघका पूर्व अध्यक्ष वीरेन्द्र तिवारीको अध्यक्षतामा भएको उक्त भेला कार्यक्रममा प्रमुख अतिथि सांसद रमेश लेखक,विशिष्ट अथिति नेपाल औषधि व्यवसायी संघ कञ्चनपुर अध्यक्ष रामचन्द्र बम , सीएमए संघका केन्द्रीय महासचिव लाल बहादुर खड्का लगायत जिल्लाभरिका सिएमए चिकित्सकको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन भने सीएमए संघका अध्यक्ष तिलक जोशीले गरेका थिए ।