कञ्चनपुर , भदौ ०१ : कञ्चनपुरको रेडियन्ड माविका विद्यार्थीले अनाथालयमा खाजा तथा फलफुल खुवाउने कार्य गरेका छन् । रेडियन्ड माविमा अध्ययनरत कक्षा ८ , ९ र १० विद्यार्थीहरुले आफैले पैसा उठाएर जिल्लाको महेन्द्रनगर स्थित रहेको समाज कल्याण अञ्चल वाल अनाथालयमा बस्ने अनाथ बालबालिकालाई खाना खुवाउने तथा फलफुल वितरण गर्ने काम गरेका हुन् । विद्यार्थीको यो कार्यमा उक्त विद्यालयका शिक्षक शिक्षिकाले पनि सहयोग गरेको विद्यालयमा कार्यरत विज्ञान शिक्षक गणेश विष्टले बताए ।
विद्यार्थीहरुले सामाजिक कार्यमा आफ्नो पढाइलाई जोड्नु र नैतिक शिक्षाको ज्ञानलाई बढवा दिन अनाथालयमा खाना खुवाउने तथा फलफुल वितरणको आयोजना गरिएको स्कूलका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताए । सो विद्यालयमा अध्ययनरत छात्रा शिवा्ङ्शि शाहीले सामाजिक अध्ययन विषय अन्तर्गत सामाजिक कार्यमा विद्यार्थीले जोडिनु पर्ने भएकाले अनाथालयमा सहयोग गरेको बताइन् । उनले भनिन् ,“ हामी मानव भए पछि मानवता देखाउनु पर्छ सोही उदेश्यले शिक्षालाई व्यवहार संग जोड्नु आवश्यक छ ।”यसरी विद्यार्थीले यस्तो खालको परोपकारी भावना देखाएकोमा अनाथालयका बालबालिकाले खुसी व्यक्त गरेका छन् ।