गण्डक। गण्डकी प्रदेश सरकारले ल्याएको आगामी वर्ष २०८०/८१ को बजेट २२ दिनपछि पारित भएको छ ।
२२ दिनको छलफलपछि प्रदेश सभाले शुक्रबार बहुमतले बजेट पारित भएको हो। अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए।
अर्थमन्त्री आलेले चालु आर्थिक वर्षभन्दा डेढ अर्ब सानो बजेट ल्याएका हुन्। बजेटले राजश्वको दर बढाउने नभइ दायरा बढाउने काम गरेको अर्थमन्त्री आलेको भनाइ छ।
प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। सत्तापक्षकै सांसद पनि बजेटमा कर्मचारीतन्त्र हावी भएको भन्दै असन्तुष्ट थिए।
विपक्षी दलले पटकपटक संसद् अवरुद्ध पनि गरेको थियो। विपक्षीसँगै सत्तापक्षकै सांसदको असन्तुष्टिबीच बजेट पारित गरिएको छ।
आगामी वर्षका लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको हो। जसमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८.१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत छ।