काठमाडौं। आईएमई इन्स्योरेन्स कम्पनीले अन्तिम प्रहरमा आएर एकाएक आइपीओ स्थगित भएको बताएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता भने अलमलमा परेका छन् । आईपीओ आवेदन सार्नुको स्पष्ट कारण पनि खुलाइएको छैन । प्राविधिक कारणले मात्र आईपीओ भर्ने म्याद सारिएको बताइएको छ ।
यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।
आईएमई लाइफ इन्सुरेन्सले सर्वसाधारणलाई भोलिदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ । आज बुधबारदेखि आईपीओ खुला गर्ने भनेपनि प्राविधिक कारण देखाउँदै कम्पनीले भोलि बिहीबारदेखि आवेदन खुला गरिने जानकारी दिएको हो ।
कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दै छ । यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै,६ लाख कित्ता सेयर कर्मचारी र ५५ अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।।
सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।