काठमाडौं। कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भीषण वर्षाको सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश र कोसी प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत आउने पुर्वानुमान गरिएको छ।
मनसुनी वायुको प्रभावले हाल देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यति वेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भीषण वर्षाको सम्भावना छ।
मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।














