काठमाण्डौ । देशका ६ वटा प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुने भएका छन् । सरकारको छिनोफानो नहुँदा ६ प्रदेशका मुख्यमन्त्री शुक्रबार पोखरामा जुट्ने भएका हुन्।
गण्डकी प्रदेशको अगुवाइमा दोस्रो पटक मुख्यमन्त्रीको भेला पोखरामा हुन लागेका हो। सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण गरिएको भए पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पोखरा नआउने भएका छन् ।
भेलामा संघीयता कार्यान्वयन,प्रदेशले पाउनुपर्ने अधिकार,एकीकृत विकास मोडल लगायतका एजेन्डामा छलफल हुने जनाइएको छ। प्रदेशका मुख्यमन्त्रीको समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि भेलामा सहभागी हुने भएका छन् ।
यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा मुख्यमन्त्रीको सम्मेलन भएको थियो। सम्मेलनले प्रदेश सरकारको अधिकारको माग गर्दै आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।
दोस्रोपटक हुन लागेको मुख्यमन्त्रीको सम्मेलन यसअघि जेठ १० मा गर्ने तय भएको थियो। तर,प्रधानमन्त्रीको व्यस्तताका कारण सम्मेलन सारिएको हो ।














