धनगढी , असार १० : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो तथा केन्द्रीय सदस्य भेषराज सी ले शिक्षाको गुणस्तरको मापन विद्यार्थीको आचरण र जीवन व्यवहारमा हुने बताएका छन । नेकपा निकट अखिल (क्रान्तिकारी) सेती ब्युरोको आयोजनामा शनिबार धनगढीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता भेषराजले सो कुरा बताएका हुन् ।
सार्वजनिक शिक्षाका वर्तमान समस्या र समाधानका उपायहरु विषयका अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले शैक्षिक क्षेत्रका उपलब्धिहरू भनेको परीक्षामा आउने प्राप्तांक मात्र नभई जीवन व्यवहारमा आउने परिवर्तन मुख्य भएका बताएका छन् । अहिलेको शैक्षिक परिवेश उद्धत गर्दै निजी शैक्षिक संस्थाले भने जस्तो सर्टिफिकेटमा बढी प्रतिशत देखाएर गुणस्तर हुने हो, के निजी विद्यालयका बालबालिका कुलतमा फसेका छैनन, के निजी विद्यालयका विद्यार्थी बलात्कार , चोरी वा ठगीमा फसेका छैनन ? प्रश्न गर्दै उनले भने । त्यसकारण बढी नम्बर ल्याएर पास हुनु शिक्षामा गुणस्तर होइन गुणस्तर त विद्यार्थीको वास्तविक जीवनमा आउने सकारात्मक परिवर्तन हो, नेकपा नेता भेषराजले भने । साथै शिक्षालाई श्रम र चरित्र निर्माण संग जोडेर मापन हुनुपर्ने उनको भनाइ छ ।
सम्बोधनका क्रममा उनले भने , “ अहिले शिक्षामा प्रणालीमा रहेका राज्यका गलत नीति र मुख्य गरी निजीकरण मार्फत देशमा भित्रिएको शिक्षामा दलालिकरण नै शिक्षा क्षेत्र सुधार नहुनुको समस्या हो ।” विदेशी सहयोगमा चलेको शिक्षा क्षेत्रलाई विदेशीले लादेको आफूसुखी नीतिहरुले शिक्षा धरासायी बनेको उनी बताउँछन् । विद्यमान समयमा रहेको दलाल संसदीय व्यवस्थामा शिक्षामा अपवादका रूपमा केही सुधार भने ल्याउनु सकिन्छ तर बृहत परिवर्तन ल्याउन राज्यको राजनीतिक संरचना नैं फेर्नु पर्नेमा नेकपा नेता भेषराजको जोड थियो । शिक्षामा देखिएको दलाल पूँजीवाद रोक्न वैज्ञानिक समाजवाद स्थापना आबस्यक रहेको उनको जिकिर थियो ।

अन्तरक्रियामा अखिल क्रान्तिकारी सेती ब्युरोले समग्र शिक्षा क्षेत्रको समस्या र सामाधान सहितको अवधारणापत्र प्रस्तुत गरेको थियो । जसमा अन्य सरोकारवालाले शिक्षा सुधारमा जोड दिँदै आफ्नो टिप्पणी राखेका थिए ।

अखिल क्रान्तिकारी सेती ब्युरो इन्चार्ज बबर सी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा सेती ब्युरो इन्चार्ज भगत सी , पार्टी केन्द्रीय सदस्यहरु प्रकाश सी, विमल सी, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी , संगठनकै सचिव प्रकाश सी , अन्य शिक्षक संगठनका नेताहरु , विद्यार्थीहरू र सरोकारवाला निकायको सहभागी थिए ।















