कैलाली । धनगढीमा प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरूमा बनाइएका अधिकांश भवनहरू नक्सा पास नगरी निर्माण गरेको गरिएका छन् । कानूनले अनिवार्य नक्सा पास गरेर भवन निर्माण गर्नुपर्ने भए पनि प्रदेश सरकारका मन्त्रालयहरूले नै नक्सा पास नगरी भवन बनाएका हुन् ।
प्रदेश सरकारका मन्त्रालय र कार्यालयका नयाँ भवन नक्सा पास नगरी बनाइने गरेको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नहुने व्यवस्था छ । ऐनमा ’नयाँ भवन बनाउने, पुरानो भवन भत्काई पुनः निर्माण गर्ने, तल्ला थप गर्ने, मोहडा फेर्ने, वा साविकमा थपघट गरी झ्याल, ढोका, बार्दली, कौशी, दलान, टहरा, तवेला वा ग्यारेज बनाउने वा कम्पाउण्ड वाल लगाउने कार्य नक्सा पास नगरी बनाउन नपाइने,’ स्पष्ट व्यवस्था छ ।
कानूनले राष्ट्रिय भवन संहिताको अधिनमा रहेर नक्सा पास गरेर मात्रै घर, भवन र पर्खाल निर्माण गर्नुपर्ने व्यवस्था पालना गर्नु अनिवार्य गरेको छ । तर, धनगढीमा भने प्रदेशका मन्त्रालय र सरकारी कार्यालहरूले नै विद्यमान कानूनको उल्लंघन गरेको पाइएको छ ।
सरकारी भवनको तला थप्दा र नयाँ भवन बनाउँदा नक्सा पास नगरेको पाइएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको नयाँ भवन निर्माण हुँदैछ । तर, त्यसको नक्सा पास गरिएको छैन । मन्त्रालयका प्रवक्ता टिकाराम थापाले भने नक्सा पासको प्रक्रिया थालिएको बताएका छन् । कृषि मन्त्रालयको साविकको भवनमा एक तला थपिएको छ । तर, त्यसको पनि नक्सा पास गरिएको छैन ।