काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै परेको सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
पूर्वअयोग्य लडाकु लेनिन विष्टलगायतले दायर गरेको रिटमाथि आज न्यायाधीश सपना प्रधान मल्लको बेन्चमा सुनुवाइ हुने भउको हो ।
तत्कालीन विद्रोही माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै विष्टलगायतले दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
सशस्त्र युद्धताकाका बालसेना विष्ट पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए ।
उनीहरुले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका छन्।
दुबै नेतालाई युद्ध अपराधमा कारबाहीको माग गरिएको रिटमा दाहालको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बन गर्नुपर्ने जिकीर पनि गरिएको छ। विष्टले रिटमा आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न समेत आदेशको माग गरेका छन्।
सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।














