भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको आइतबार उद्घाटन गरेका छन् । प्रतिपक्ष दलको बहिस्कार तथा विरोध प्रदर्शनबीच उनले नयाँ संसद् भवनको निर्माण सकी आईतबार उद्घाटन गरेका हुन् ।
९३ वर्षअघि बेलायती उपनिवेशकालमा निर्मित यसअघिको संसद् भवनलाई प्रतिस्थापन गर्ने उक्त भवन नयाँ दिल्लीको केन्द्रमा बनेको छ ।
६४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको नयाँ भवनमा रहेका संयुक्त बैठक कक्षमा ८ सय ८८ लोकसभा सदस्य र ३ सय राज्यसभा सदस्य सिट संख्या रहेको छ। यसअघिको भवनमा ५४३ लोकसभा सदस्यका लागि र २४५ राज्यसभा सदस्यका लागि सिट संख्या थियो।
राष्ट्रपति द्रोपदी मुर्मुले उदघाटन गर्नुपर्नेमा प्रधानमन्त्री मोदीले उद्घाटन गरेको भन्दै भारतीय नेसनल कंग्रेससहित प्रतिपक्षमा रहेका १९ दलले यो भवन उद्घाटन समारोह बहिष्कार गरेका थिए। विरोध स्वरूप नयाँ संसद् भवनतर्फ दौडेर प्रदर्शनमा उत्रेका केही धावकलाई गिरफ्तार गरिएकोछ।
भवनको औपचारिक उद्घाटनपछि बोल्दै भारतीय प्रधानमन्त्री मोदीले उक्त भवन भवन मात्र नभई १ अर्ब ४० करोड भारतीयको आशा र सपनाको प्रतिबिम्व रहेको बताए। नयाँ भवन प्रजातन्त्रको मन्दिर रहेको चर्चा गर्दै उनले यसले विश्वलाई प्रजातन्त्रप्रतिको भारतीय प्रतिबद्धता मुखरित गरेको बताए।
प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले भवन उद्घाटन समाारोहलाई मोदीले राज्याभिषेक समारोह बनाएको टिप्पणी गरेका छन्। सत्तारूढ भारतीय जनता पार्टीले प्रमुख प्रतिपक्ष दलको बहिस्कारलाई ‘प्रजातन्त्रप्रतिको अवहेलना’ भनेको छ। उद्घाटनको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले संसद् भवनमा तामिलाडुको अधीनम मठबाट ल्याइएको ऐतिहासिक सेंगोलको प्रतिमा पनि स्थापना गरेका छन्।
नयाँ संसद् भवन निर्माणमा ९ अर्ब ७० करोड भारतीय खर्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। हालको संसद् भवनलाई म्युजियमा परिणत गरिने बताइएको छ।














