२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

विराटनगरमा निषेधाज्ञा

पहिचानवादीहरुले प्रदर्शन गर्ने भएपछि मोरङ प्रशासनले शनिबारदेखि विराटनगरमा फेरि निषेधाज्ञा जारी गरेको छ।

आइतबारदेखि सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिवेशनबाट नाम खारेजीको माग गर्दै पहिचानवादीहरुले प्रदर्शन गर्ने घोषणा गरेकाले मोरङ प्रशासनले विराटनगरमा निश्चित समयका लागि शनिबारदेखि नै निषेधाज्ञा जारी गरेको हो।

मोरङका सिडिओ वीरेन्द्रकुमार यादवका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार जो कोहीलाई भएपनि संवेदनशील क्षेत्रको सुरक्षाका लागि प्रदेश सभा रहेको अस्पताल चोकदेखि देवकोटा चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रेहको रोडशेष चोक, मुख्यमन्त्रीको निवास रहेको क्षेत्र र कोसी प्रोजेक्ट प्रदेश प्रमुखको कार्यालय रहेको कञ्चनबारी क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो।

यी क्षेत्रमा कसैले पनि कुनै पनि धर्ना, जुलुस र आन्दोलनका गतिबिधि गर्न पाउने छैनन्। प्रदेशको नाम कोसी राखेपछि विरोधमा पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउँदै खारेजीका लागि विभिन्न आन्दोलन र प्रदर्शन गर्दै आएका छन्।

कोसी प्रदेश सभाको बजेट अधिवेशन १४ जेठदेखि सुरु हुने भएपछि पहिचान पक्षधरहरुले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन्। उनीहरुले शुक्रबार विराटनगरमा युवा दस्ता सार्वजनिक गरी मार्चापास गराएका थिए।

कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचान पक्षधरहरुले ५ र १४ चैत २०७९ मा विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए। सो क्रममा घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको थियो। मृतक लिम्बुवान भोलेन्टियर्स मोरङ बेलबारी– ४ लालभित्तीका पदम लिम्बुको शवयात्रा गर्ने क्रममा पनि विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सबै प्रदर्शनका क्रममा दुई दर्जन प्रदर्शनकारी र उत्तिकै संख्यामा प्रहरी घाइते भएका थिए।

तत्कालीन १ नम्बर प्रदेश सभाबाट १७ फागुन २०७९ मा दुई तिहाईभन्दा बढी मतले कोसी प्रदेशको नाम टुङ्गो लागेको थियो। तर, पहिचान पक्षधहरुले भने पर्याप्त छलफल नगरी सुटुक्क प्रदेश सभाबाट एकल जातीय नाम टुंगो लगाएको भन्दै विरोध जनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?