काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज पनि विभिन्न सामुदायिक विद्यालयहरुमा पुगेर अनुगमन गरेका छन् ।
प्रत्येक शुक्रबार पुस्तकरहित बनाउने र जीवनउपयोगी सिप सिकाउन विद्यालयहरुलाई प्रोत्साहित गरेका मेयर शाहले आगको अनुगमनको शुरुवात वडा नं. ५ टंगालमा रहेको टंगाल माध्यमिक विद्यालयबाट गरेका थिए । विद्यालयका विद्यार्थीहरु समूहमा बाँडिएर कोही काठ चिल्लो बनाउने, बुट्टा भर्ने, काट्ने, नाप्ने सिप सिकिरहेका थिए । केही विद्यार्थी मोबाइल मर्मत गर्न सिकिरहेका थिए । सिपमुलक तालिममा सहभागी नहुने विद्यार्र्थीहरु कक्षा कोठाको सजावट गर्ने सामग्री निर्माण गर्ने, आर्ट गर्ने, कागज काटेर सजावटका सामान बनाउनेलगायत काम गरिरहेका थिए ।
टंगाल मा. वि. पछि प्रमुख शाह वडा नं. २५ मा रहेको कन्या विद्या मन्दिर माध्यमिक विद्यालयमा पुगेका थिए । उनीसँग प्रवक्ता नविन मानन्धर, शिक्षा सल्लाहकार रेशु अर्याल, सहायक विज्ञ शैलेन्द्र झासहित अधिकारी सहभागी थिए । विद्या मन्दिरका विद्यार्थीको एउटा समूह ब्युटिसियन (सौन्दर्य कला) र अर्को समूह सिलाइ कटाइ तालिममा व्यस्त थिए ।
तालिम कक्षामा नभएका अरु विद्यार्थीहरुमध्ये कोही इको क्लबका क्रियाकलाप गर्दै थिए भने कोही आम निर्वाचन कसरी गर्ने भन्ने नमूना मतदान कार्यक्रम गर्दै थिए । मतदान अभ्यासमा विद्यार्थीहरुलाई नै उम्मेदवार, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतदाता बनाइएको थियो । मत पत्र छापेर नै मतदान अभ्यास भएपछि विद्यार्थीहरु उत्सुकताका साथ निर्वाचन कार्यक्रम चलाइरहेका थिए ।
निरीक्षणका क्रममा प्रमुख शाहले भने, ‘प्रयोगात्मक शिक्षण विधिबाट विद्यार्थीहरुको सिकाइप्रतिको रुचि बढ्छ । शिक्षण पद्धतिलाई परम्परागत बनाइनु हुँदैन । खेल र प्रविधि जोडेर विद्यार्थीहरुमा स्वतः रुचि जगाउनु पर्छ । मैले चुनावी घोषणा पत्रमा, सामुदायिक विद्यालयहरुमा हप्ताको एक दिन सिप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने भनेको थिएँ । यो घोषणा कार्यान्वयनमा आएको छ ।’
प्रमुख शाह प्रशिक्षण भइरहेका कक्षासहित अन्य विद्यार्थीहरु के गरिरहेका छन् भनेर प्रायः सबै कक्षा कोठामा पुगेका थिए । त्यस क्रममा उनले, शिक्षा विभागलाई शिक्षण क्रियाकलाप सुधार गर्ने कार्यक्रमलाई थप व्यवस्थित गर्दै लैजान समेत निर्देशन दिए ।
‘विद्यार्थीहरुले उत्पादन गरेका सामग्रीलाई बजारमा लैजान सक्ने बनाउनु पर्छ । यसबाट मात्र नतिजा आउँछ ।’ प्रमुख शाहले प्रधानाध्यापकहरुसँग आफ्ना अपेक्षा सुनाए ।
कन्या मन्दिरको अवलोकन पछि प्रवक्ता मानन्धरले भने, ‘बुक फ्रि फ्राइ डे कार्यक्रमले विद्यार्थीहरुमा सिकाइप्रति उत्साह थपेको महसुस गरेको छु ।’ प्रमुख शाह, विद्यालयमा गठन गरिएको इको क्लबका विद्यार्थीहरुलाई संकेत चिन्ह प्रदान गर्ने, वृक्षारोपणलगायत क्रियाकलापमा सहभागी पनि भए ।
निरिक्षण्मा सहभागी शिक्षा सल्लाहकार रेशु अर्यालले भनिन, ‘प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकले सक्रिय सिकाइ अनुभूति भएको प्रतिक्रिया पाएका छौँ । कक्षा कोठा तयारीका लागि शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको सहभागिता सकारात्मक छ । हामीले निर्धारण गरेका सबै विधा प्रयोगमा आइसकेका छन् ।’ अर्यालका अनुसार मोबाइल मर्मतमा धेरै विद्यार्थीहरुको रुचि देखिएको छ ।














