कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सत्ता र अवसरको राजनीति गर्नेहरूसँग एकता सम्भव नरहेको स्पष्ट पार्नुभएको छ। कपिलवस्तुमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
महासचिव विप्लवले आफूले कम्युनिस्ट शक्तिहरूबीच शुद्ध चाहनाका साथ एकताको पहल गरे पनि केही नेताहरूको सोचाइको केन्द्रमा सत्ता र व्यक्तिगत अवसर मात्र रहेकाले त्यो सफल हुन नसकेको बताउनुभयो।
“परम्परागत संसदीय राजनीति र पदका लागि मरिहत्ते गर्नेहरूसँग मिलेर देशमा परिवर्तन सम्भव छैन,” उहाँले भन्नुभयो, “हाम्रो पार्टी एक्लै संघर्ष गर्न सक्षम छ, त्यसैले अब क्रान्तिकारी रूपान्तरणका लागि उत्साहका साथ जनताको बीचमा जानुको विकल्प छैन।”
निर्वाचनलाई संघर्षको एउटा मोर्चाका रूपमा मात्र उपयोग गरिएको उल्लेख गर्दै उहाँले निर्वाचन परिणामले पार्टीको क्रान्तिकारी यात्रामा कुनै असर नपार्ने दाबी गर्नुभयो। निर्वाचन परिणामका आधारमा माओवादीलाई कमजोर ठान्नु ‘दुर्भाग्य’ हुने चेतावनी दिँदै उहाँले पार्टीको मुख्य लक्ष्य क्रान्ति र जनताको पूर्ण मुक्ति नै रहेको दोहोर्याउनुभयो।
साथै, अमेरिकी साम्राज्यवादले नेपालमा प्रत्यक्ष सैन्य उपस्थिति चाहेको आरोप लगाउँदै त्यसको डटेर प्रतिरोध गर्न उहाँले केन्द्रीय नेताहरूलाई निर्देशन दिनुभएको छ। कुनै पनि वैदेशिक हस्तक्षेप र प्रतिक्रियावादी शक्तिसामु नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै विप्लवले अन्तिमसम्म देश र जनताका लागि लड्ने उद्घोष गर्नुभयो। बैठकले आगामी असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय समेत गरेको छ।















