काठमाडौं । गगन थापा ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन्।
काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै थापाले लामिछानेको संलग्नतापुष्टि हुने अदालती कागजात र चेक विवरण सार्वजनिक गरेका हुन्।
थापाले आफूले बनावटी आरोप नलगाएको दाबी गर्दै प्रस्तुत प्रमाणहरू सर्वोच्च अदालत को फैसला तथा विभिन्न जिल्ला अदालतमा पेश भएका कागजातमा आधारित रहेको बताए।
उनका अनुसार चितवन अदालतको अभिलेखमा लामिछानेको नाममा ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको उल्लेख छ। साथै, ४१४ वटा चेकमा लामिछानेकै हस्ताक्षर भेटिएको उनले दाबी गरे।
यस्तै, रुपन्देहीको बुटवलस्थित सहकारीबाट लामिछानेको व्यक्तिगत नाममा बिना धितो २ करोड रुपैयाँ ऋण प्रवाह भएको थापाको भनाइ छ।
थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाका बुँदा उद्धृत गर्दै लामिछाने प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्ने निर्णयमा संलग्न रहेको बताए।
उनले ‘निःशुल्क सेयर’ पाएको दाबी गरिए पनि उक्त लगानी सहकारीकै रकमबाट गरिएको देखिएको आरोप लगाए। कम्पनीबाट अलग भएको भनिएको मिति पछिसमेत सयौँ चेकमा हस्ताक्षर रहेको तथ्य फेला परेको उनको जिकिर थियो।
थापाले यी सबै कागजात सार्वजनिक दस्ताबेजका रूपमा उपलब्ध रहेको र जोसुकैले अदालतको वेबसाइटमा हेर्न सक्ने बताए।
यस विषयमा लामिछाने पक्षको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।














