पर्साको वीरगन्जस्थित आदर्शनगरमा अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। सोमबार वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरेर राखिएको आशंकामा मदनप्रसाद गुप्ताको घरमा रहेको गोदाममा छापा मारेको थियो। छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहसँग झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने दुई वटा सवारीसाधनमा क्षति पुगेको छ।
घटनामा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्न सिसीटिभी फुटेजका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। उक्त गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।














