भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगरेको स्पष्ट पार्नुभएको छ। पछिल्लो समय आफ्नो राजनीतिक आबद्धतालाई लिएर सञ्चारमाध्यम र राजनीतिक वृत्तमा भइरहेका चर्चाको खण्डन गर्दै मन्त्री खरेलले यस्तो प्रष्टीकरण दिनुभएको हो।
बुधबार नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले भन्नुभयो,”मिडियामा म यो पार्टी वा उ पार्टीमा प्रवेश गरे भन्ने हल्ला निराधार छ । म हालसम्म कुनै पनि राजनीतिक दलमा प्रवेश गरेको छैन र पार्टी प्रवेशका लागि कुनै किसिमको वार्ता वा छलफलसमेत भएको छैन।”उहाँले आफ्नो नामलाई लिएर भइरहेका विभिन्न अड्कलबाजीहरूको खण्डन गर्दै आगामी निर्वाचन लड्ने वा नलड्ने विषयमा समेत आफूले कुनै निर्णय नगरेको जिकिर गर्नुभयो ।


सोही अवसरमा मन्त्री खरेलले सरकार आगामी फागुन २१ गते हुने निर्वाचनलाई समयमै सम्पन्न गर्न पूर्ण रूपमा केन्द्रित रहेको बताउनुभयो। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो। उहाँले निर्वाचनलाई विश्वसनीय र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।
मन्त्री खरेलले स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्दै पत्रकारहरूको भूमिकाको प्रशंसा गर्नुभयो। स्थापना दिवसको अवसरमा महासङ्घले आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँले पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न पत्रकारहरूलाई सम्मानित समेत गर्नुभयो।
नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष विभिन्न विधाका पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।



