काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो २०औँ वर्ष प्रवेशको
कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा योगदान पुर्याउने उद्देश्यसहित “Muktinath Agri-Finance 360” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याई भविष्यको कृषि वित्तको मार्गचित्र कोर्ने प्रयास गरिएको बैंकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि लगानी विस्तार, कर्जा गुणस्तर सुधार, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय तथा महिला र युवामैत्री कृषि उद्यम प्रवर्द्धनमा जोड दिनुभयो। सरकारले नयाँ कृषि नीति ल्याउने तयारी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रममा बैंकिङ्ग विशेषज्ञहरूले कृषि उद्यम लगानीका चुनौती र अवसरबारे प्रस्तुति दिएका थिए। साथै प्यानल छलफलमार्फत कृषि कर्जा जोखिम व्यवस्थापन, मूल्य शृंखला आधारित सहकार्य, प्रविधिमैत्री कृषि र महिला उद्यमी प्रोत्साहनका विषयमा निष्कर्ष निकालिएको थियो।
करिब ३५० जनाको सहभागिता रहेको उक्त कार्यक्रम कृषि वित्तको क्षेत्रमा एक कोशेढुंगाका रूपमा लिइएको छ।



