२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

चम्पापुर कृषि सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित चम्पापुर कृषि सहकारी संस्था लिमिटेड को १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। “कृषिमा लगानी, जीवनको उन्नति” भन्ने नारासहित वि.सं. २०६७ सालमा स्थापना भएको सहकारीले १५ वर्षको अवधिमा सामूहिक खेती, स्थानीय रोजगारी र कृषकको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

साधारणसभाका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ सदस्य कृष्णबहादुर भँडेल ले स्थानीयस्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न कृषिलाई व्यवसायिक बनाउनु आवश्यक रहेको बताए। उनले कृषियोग्य जमिन संरक्षण गर्दै आधुनिक कृषि प्रणाली विकास गर्न सहकारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
संस्थाका उपाध्यक्ष रविन्द्र श्रेष्ठ को सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष बलबहादुर श्रेष्ठ, सचिव रामकुमार तामाङ, सह–सचिव अनिल ढुंगाना र कोषाध्यक्ष सुरेश भँडेल लगायतले सहकारीका गतिविधि र उपलब्धिबारे जानकारी गराएका थिए।

हाल सहकारीले मनोहरा फाँट क्षेत्रमा करिब २५ रोपनी जग्गामा व्यवसायिक कृषि फार्म सञ्चालन गर्दै आएको छ। फार्ममा तरकारी, आलु, धान, गहुँलगायतका बाली उत्पादन भइरहेको सहकारीले जनाएको छ। अध्यक्ष श्रेष्ठका अनुसार सहकारीले फार्ममा २५ प्रतिशत साझेदारी लगानी गरेको छ, जसअन्तर्गत १० लाख रुपैयाँ उत्पादनमुखी क्षेत्रमा लगानी गरिएको छ।
वक्ताहरूले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रको ऐतिहासिक कृषि पहिचान संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन्। बस्ती विस्तारका कारण कृषियोग्य भूमि सङ्कटमा पर्दै गएको भन्दै सहकारीले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र दिगो कृषि प्रणाली लाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराइएको छ।

सहकारीले प्राङ्गारिक खेती प्रवर्द्धन, विषादी प्रयोग न्यूनीकरण, बीउ–विजन उत्पादन, पशुपालन तथा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै चाँगुनारायणका सामुदायिक वनसँग सहकार्य गर्दै टिमुर, तेजपात, ओखर, अमला, रुद्राक्षलगायतका बिरुवा रोपण गरिएको सहकारीले जनाएको छ।

साधारणसभामा वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी कार्ययोजना पारित गर्नुका साथै दीर्घकालीन रणनीतिबारे छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?