२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

समाजवादी चेतनासहित सोराडीको मुक्तकसंग्रह ‘उथलपुथल’ सार्वजनिक

काठमाडौँ । प्रगतिवादी स्रष्टा कर्ण दयाल ‘सोराडी’को मुक्तकसंग्रह ‘उथलपुथल’ लोकार्पण गरिएको छ। हामी र हाम्रो कृति समाजद्वारा शनिबार काठमाडौँको बालुवाटारस्थित बाल नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उक्त कृतिको सार्वजनिक लोकार्पण गरिएको हो।

साहित्यकार तथा वरिष्ठ समीक्षक प्रा.डा. गोबिन्दमानसिंह कार्की, प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी क्षेत्री दुलाल, साहित्यकार विजय ध्वज थापा, मधुपर्क मासिकका प्रधानसम्पादक त्रिभुवनचन्द्र वाग्ले, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटी तथा कृतिकार कर्ण दयाल ‘सोराडी’ले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

कार्यक्रममा वक्ताहरूले मुक्तकसंग्रह उथलपुथल समकालीन नेपाली समाजको राजनीतिक, सामाजिक र आर्थिक उथलपुथलको सशक्त अभिव्यक्ति भएको उल्लेख गरे। कृतिले सामाजिक विकृति, वर्गीय असमानता र शोषणविरुद्ध विद्रोही चेतनाको आह्वान गरेको उनीहरूको भनाइ थियो।

प्रमुख अतिथि प्रा.डा. गोबिन्दमानसिंह कार्कीले कृतिको समीक्षा गर्दै यो कृति भुइँमान्छेको पक्षमा उभिएको बताए। गरिब–धनीबीचको खाडल, शहर–गाउँको विभेद, सुकुम्बासीको पीडा, जातीय विभेददेखि काठमाडौँमा बस्ने डेरावालहरूको समस्या समेत कृतिमा सशक्त रूपमा प्रस्तुत गरिएको उनले उल्लेख गरे।

प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी क्षेत्री दुलालले बैतडी जिल्लाको नेपाली साहित्यमा रहेको ऐतिहासिक योगदान स्मरण गर्दै सहिद दशरथ चन्द, आनन्ददेव भट्ट, झुसे दमाई, लोकेन्द्रबहादुर चन्दलगायत स्रष्टाहरूको भूमिकाको चर्चा गरे। सोही साहित्यिक परम्पराको निरन्तरताका रूपमा सोराडीको उथलपुथल आएको उनको भनाइ थियो।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालले सोराडीको अघिल्लो कृति ‘रूपान्तरण’ पनि संस्थाले नै प्रकाशन गरेको स्मरण गर्दै नयाँ कृति सार्वजनिक गर्न पाउनु खुसीको विषय भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सृजनात्मक कर्मलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले कृतिले विद्यमान सामाजिक, राजनीतिक र आर्थिक यथार्थको प्रतिबिम्ब प्रस्तुत गर्दै समाजवादी जीवनपद्धतिको आवश्यकता औंल्याएको बताए। देशमा पटक–पटक हुने उथलपुथलको अन्त्य गर्दै स्थायित्व खोज्ने चेत कृतिमा रहेको उनले उल्लेख गरे।

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले कृतिकार व्यक्तित्वमा शान्त देखिए पनि उनका सिर्जनाहरूले समाजलाई गहिरो रूपमा झकझक्याउने बताए। मुक्तकसंग्रहको शीर्षक र विषयवस्तु वर्तमान समयको सशक्त प्रतीक बनेको उनको भनाइ थियो।

कृतिकार कर्ण दयाल ‘सोराडी’ले आफ्नो लेखन अनुभव साझा गर्दै कृतिमा केही विधागत अपुगता हुन सक्ने स्वीकार गरे। तर उत्पीडित वर्ग र जनताको आवाजलाई मुखरित गर्ने इमानदार प्रयास कृतिमा गरिएको भन्दै आगामी दिनमा अझ परिष्कृत र जिम्मेवार लेखन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रमुना पौडेल, मन भुजेल, सशीश्री आचार्य, राज के.सी., शिवहरी थापा, नानू राना थापा, बद्री उप्रेती र कुमार नेपालले कृतिबाट मुक्तक वाचन गरेका थिए।

तीन सय मुक्तक समेटिएको एक सय पृष्ठको उक्त कृतिको लोकार्पण समारोहको अध्यक्षता मिना न्यौपानेले गरेकी थिइन्। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा संस्थाका आजीवन सदस्य गोबिन्द पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार सुभद्रा अधिकारीले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?