भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीद्वारा पत्रकारप्रति गरिएको आपत्तिजनक टिप्पणीविरुद्ध पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ कि नगरपालिकाले सञ्चालन गर्ने अनलाइन पोर्टल चाँगुनारायण समाचार डटकम को आधिकारिक इमेलमार्फत १२ भदौमा तस्वीरसहित समाचार विभिन्न सञ्चारमाध्यममा पठाइएको थियो। सो समाचार नगरपालिका पोर्टलमै पनि प्रकाशित भएको उल्लेख गर्दै, त्यसपछि नगर प्रमुखले सामाजिक सञ्जालमार्फत पत्रकारमाथि आपत्तिजनक टिप्पणी गर्नु अनुचित रहेको पत्रकार संगठनहरूको निष्कर्ष छ।
संबैधानिक पदमा रहेका व्यक्तिहरूले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने भन्दै पत्रकार संगठनहरूले नगर प्रमुखलाई सचेत रहन आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “कार्यक्रमको जानकारी आफैं पठाउने र त्यसैलाई सम्प्रेषण गर्ने पत्रकारहरूमाथि नगर प्रमुखबाट प्रयोग गरिएका आपत्तिजनक शब्द अनुचित र अस्वीकार्य छन्।”
यस्तै, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा नेतृत्व मौन बसेकोप्रति पनि असन्तुष्टि व्यक्त गर्दै पत्रकार महासंघप्रतिको विश्वासमा कमी आउने सम्भावनाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
संयुक्त विज्ञप्तिमा प्रेस सेन्टर नेपाल भक्तपुर, समाजवादी प्रेस संगठन नेपाल भक्तपुर, जनपत्रकार संगठन नेपाल भक्तपुर, स्वतन्त्र पत्रकार संघ भक्तपुर र फोनिज भक्तपुरका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।
विज्ञप्ति:






