काठमाडौँ,। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ भने खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ।
गत वर्ष मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजित पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करणप्रति धेरैको ध्यान आकर्षित भएको छ।
एनपीएलमा हाल आठ टोली सहभागी छन् — विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स।
पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो। यसपटकको प्रतियोगिता अझ भव्य बनाउन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति कार्य भइरहेको छ। हाल प्याराफिट निर्माण कार्य अगाडि बढेको क्यानले जनाएको छ।



