भैरहवा । लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि हाल भलवारीस्थित प्रादेशिक कार्यालयमार्फत सञ्चालन हुँदै आएको नेपाल आयल निगमको डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
करिब साढे पाँच बिघा क्षेत्रमा फैलिएको भलवारी डिपोमा पेट्रोल, डिजेल र मट्टितेलका लागि क्रमशः ५१९, ३,०४० र २८० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ। तर वर्तमान खपत परिमाणको तुलनामा यो क्षमता निकै न्यून भएको निगमले जनाएको छ।
निगमका अनुसार सोही स्थानमा भण्डारण क्षमता विस्तार गर्नका लागि आवश्यक जग्गा अभाव भएकाले डिपो स्थानान्तरण अपरिहार्य बनेको हो। साथै, बुटवल–भैरहवा सडकसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोले सुरक्षा चुनौती बढाएको भन्दै स्थानीयवासीले पनि लामो समयदेखि डिपो अन्यत्र सार्न माग गर्दै आएका छन्।
सुरक्षासम्बन्धी जोखिम न्यूनीकरण गर्ने र भण्डारण क्षमता विस्तार गर्न सकिने ठाउँमा डिपो सार्ने विषयमा निगमले प्रारम्भिक गृहकार्य अघि बढाइसकेको बताइएको छ।














