भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल नीलबाराही क्षेत्रलाई भु–क्षयबाट जोगाउँदै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
यसका लागि मन्दिर परिसरको पूर्व र पश्चिमतर्फ देखिएको पहिरो तथा भु–क्षय नियन्त्रणका लागि मध्यपुर थिमी नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले संयुक्त रुपमा करिब ९ करोड ४३ लाख ३९ हजार ८७५ रुपैयाँको बजेटमा काम सुरु गर्न लागेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मध्यपुर थिमी नगरपालिकाले भोलिदेखि नै निर्माण कार्य सुरु हुने जानकारी दिएको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार दुई वर्षभित्र २० करोड रुपैयाँको लगानीमा नीलबाराही क्षेत्रलाई आधुनिक र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ । उनले भोलिदेखि नै ठेकेदार कम्पनीले फिल्डमा काम थाल्ने बताए ।
पत्रकार सम्मेलनमा योजनाको थ्रीडी नक्सासहितको डिजाइन सार्वजनिक गरिएको थियो । यसअघि मंगलबार विहानै नीलबाराही रिसोर्टमा उक्त नक्सा सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि स्थानीयको विरोधपछि स्थगित गरिएको थियो । त्यसपछि दिउँसो पत्रकार सम्मेलनमार्फत डिजाइन प्रस्तुत गरिएको हो ।
नीलबाराही मन्दिर पश्चिमतर्फको भु–क्षय नियन्त्रण तथा क्षेत्र विकासको थ्रीडी नक्सा सार्वजनिक कार्यक्रममा स्थानीय विरोध देखिएपछि औपचारिक कार्यान्वयन योजना पत्रकार सम्मेलनमार्फत अघि सारिएको नगरपालिकाले जनाएको छ ।
नीलबाराही को नमुना














