२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

नगदेशमा १२ वर्षपछि सम्पन्न ऐतिहासिक तान्त्रिक ‘भैल प्याखः’ नाच

भक्तपुर। मध्यपुर थिमि नगरपालिका ७ स्थित ऐतिहासिक सांस्कृतिक बस्ती नगदेशमा १२ वर्षपछि पुनः ऐतिहासिक तान्त्रिक भैल प्याखः नाच भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय परम्परा अनुसार यो नाच हरेक १२ वर्षमा एक पटक मात्र आयोजना गरिन्छ, जसका कारण यसपटकको प्रस्तुति विशेष महत्त्वपूर्ण बनेको हो।

नगदेशमा भैल प्याखः नाचको औपचारिक आरम्भ देवगणहरूको प्राण प्रतिष्ठासँगै भएको हो। भैल प्याख भैरवको तान्त्रिक नाच हो, जसमा विशेष पात्रहरू ‘देवगण’का रूपमा सहभागी हुन्छन्। बिहीबार राति, नाचको प्रारम्भिक दिन, देवगण न्हाप भैल, लिपा भैला, न्हाप दायगी र लिपा दायगीलाई गुरूले तान्त्रिक विधिबाट नासः पूजा कोठाबाट ल्याएको विशेष प्रकारको अक्षता प्रदान गरेपछि नाच सुरु गरिएको हो।

यो अवसरमा नर्तकहरूले परम्परागत रूपमा प्रचलित मुकुण्डो (मुखौटा) लगाएका थिएनन्। यसलाई विशेष धार्मिक–तान्त्रिक अर्थमा ‘मुकुण्डो नलगाई गरिने भैरव नाच’ मानिन्छ। गुरूको निर्देशनमा नाचका पात्रहरूले निश्चित ताल, मुद्राहरू र सांकेतिक चालहरू प्रस्तुत गर्दै देवगणको आवाहन गर्ने क्रम पूरा गरे।

भैल प्याखःलाई मुख्य नाच मानिन्छ। गाईजात्राको भोलिपल्टदेखि सुरु हुने यो नाचमा, नगदेशका विभिन्न टोलमा देवगणको टोली चार रातसम्म निरन्तर घुम्दै नाच प्रस्तुत गर्छ। यसक्रममा रातभरि धार्मिक बाजागाजा, ढोल, खिं, झ्याली, नर्सिङ्गा आदि परम्परागत वाद्यहरूको तालमा नाच देखाइन्छ।

भैल प्याखःको प्रदर्शनसँगै नगदेशका घर–घरमा सामूहिक भोज खाने चलन छ। चार दिनसम्म निरन्तर लाग्ने यस भोजलाई ‘भैल भोज’ भनिन्छ, जसमा गाउँका सबै सदस्य, आफन्त तथा अतिथिहरू सहभागी हुन्छन्। भोजले गाउँमा आपसी एकता, सद्भाव र सांस्कृतिक गौरवलाई अझ प्रगाढ बनाउने मान्यता छ।

भैल प्याखः नाच नगदेशको मात्र नभई सम्पूर्ण नेवारी सांस्कृतिक सम्पदाको अनिवार्य अंश हो। यस नाचमार्फत भैरवको शक्तिको आवाहन, गाउँको सुरक्षा, रोग–व्याधि निवारण तथा समृद्धिको कामना गरिन्छ। तान्त्रिक विधि, मौलिक वेशभूषा, प्राचीन लय र चलनहरूको संगमका कारण यो नाचलाई जीवित सांस्कृतिक धरोहर मानिन्छ।

१२ वर्षपछि सम्पन्न भएको यसपटकको भैल प्याखःमा स्थानीय बासिन्दा, वरपरका बस्तीका दर्शक र संस्कृति–अनुसन्धानमा रुचि राख्ने विद्वानहरूको पनि उल्लेख्य भीड लागेको थियो। यसले नगदेशको पहिचानलाई अझ बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?