काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहकार्य एजेन्सी (KOICA) र ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (HRDK) द्वारा सञ्चालन गरिएको एक साताको ‘के-फुड’ (कोरियन खानपान) तालिम सोमबार सम्पन्न भएको छ।
साउन १९ गतेदेखि २६ गतेसम्म हिमालयन हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर, काठमाडौंमा सञ्चालन भएको तालिम पुनरागमन गरेका नेपाली कामदारहरूको सीप विकास र पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो । यो कार्यक्रम ‘के-एचएमआइ’(कोरिया ह्याप्पी माइग्रेशन) परियोजनाअन्तर्गतको पायलट पहल हो,जसलाई २०२२ देखि कार्यान्वयनमा ल्याइएको हो ।
समापन कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क टे-यङ सहभागी भए । उनले तालिममा सहभागीहरूलाई बधाई दिँदै प्रमाणपत्र वितरण गरे ।
यो संयुक्त पहललाई कोरिया–नेपालबीचको जनस्तरको सहयोगको प्रतीकका रूपमा लिइएको छ र यसले विदेश फर्केका श्रमिकहरूको व्यावसायिक सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजक संस्थाहरूको भनाइ छ ।



