२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नेपाली क्रान्तिका लागि नयाँ विचार र दिशा जरुरी छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली समाजको वास्तविक रुपलाई बुझेर नयाँ विचार र कार्यक्रमसहितको समाजवादी क्रान्ति आवश्यक रहेको बताएका छन्।

आइतबार राजधानीमा आयोजित ‘कम्युनिस्ट समाजवाद’ (लेखक खेम थपलिया) र ‘कम्युनिस्ट जनवाद’ (लेखक कृष्णहरी भट्ट) पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै उनले अहिलेको जटिल राष्ट्रिय परिस्थिति पुरानो शैली र परिभाषाले सम्बोधन गर्न नसकिने बताए।

“समाजवादको अब पुरानो परिभाषाले काम गर्दैन,” विप्लवले भने, “नेपाली क्रान्तिको सन्दर्भमा विचार, कार्यक्रम र रणनीति सबैमा नयाँपन आवश्यक छ।”

उनले हालको राजनीतिक, आर्थिक र सामाजिक समस्याको मूल जड संक्रमणकालको अलमल रहेको उल्लेख गरे। “देश दिशाहीन छैन, समाजवादी क्रान्तिको दिशातिर अघि बढिरहेको छ,” विप्लवले दाबी गरे, “तर सत्ता अहिलेसम्म कुनै एक वर्गमा केन्द्रित हुन नसक्नुको कारण संघर्ष अझै जटिल छ।”

विप्लवले नेपाली समाजमा आदिम साम्यवाददेखि लिएर पुँजीवादी साम्राज्यवादसम्मका मिश्रित संरचना विद्यमान रहेकाले यहाँको क्रान्तिको स्वरूप पनि विशेष हुने बताए। “नौलो जनवाद कि समाजवाद भन्ने प्रश्न विचारधारात्मक अन्तरविरोधको विश्लेषणबाट टुंग्याउनु पर्छ,” उनले भने।

कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वका व्यवहार र सिद्धान्तबीचको अन्तरलाई गम्भीर समस्या भन्दै उनले नयाँ विचारका आधारमा आन्दोलन पुनर्गठन नभए अघिल्लो पुस्ताले कमाएको ६५ प्रतिशत जनमत समेत गुम्न सक्ने चेतावनी दिए।

उनले २१औं शताब्दीको समाजवादलाई समयको आवश्यकता भन्दै, दलाल पुँजीवाद असफल हुँदै जान थालेपछि त्यो फासीवादतिर मोडिने खतरा पनि औंल्याए। “एमसीसीबारे विश्वभर कटौती भइरहँदा नेपालमा त्यसलाई निरन्तरता दिनु गम्भीर विषय हो,” उनले भने, “यो फासीवादी प्रवृत्तिको संकेत हो, ।

महासचिव विप्लवले नयाँ विचार, गहिरो अध्ययन र सशक्त कार्यदिशा बिना क्रान्ति सम्भव नभएको दोहोर्याउँदै नेपाली समाजको वर्गीय विश्लेषणसहितको मार्गचित्र आवश्यक रहेको निष्कर्ष सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?