अत्तरिया । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीको विषय पुनः पेचिलो बन्दै गएको छ। प्रदेश सरकारले राजधानी धनगढीमै राख्ने प्रयास थालेपछि सात वर्षअघि स्थायी राजधानी घोषणा गरिएको गोदावरी नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् ।
“जय गोदावरी स्वतन्त्र अभियान”का संयोजक धन बहादुर बोगटीको अगुवाइमा आज आइतबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरिएको हो । उनीहरूले भोलि सोमबार अत्तरिया चोकस्थित प्रतिभा सामुदायिक पुस्तकालयमा बिहान ८ बजे बृहत नागरिक भेलाको आयोजना गर्ने जनाएका छन् ।
भेलाको निष्कर्षअनुसार राजधानी सार्ने निर्णयको विरुद्ध थप चरणबद्ध आन्दोलन अघि बढाइने संयोजक बोगटीले बताएका छन्। उनले भने,“दुई तिहाइ बहुमतले गोदावरीलाई राजधानी घोषणा गरिएको हो,त्यसलाई सात वर्षसम्म कार्यान्वयन नगरी अहिले आएर धनगढी सार्ने कुरा स्वीकार्य छैन । धनगढी आफै कन्जेस्टेड ठाउँ हो, सीमावर्ती क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि अस्वीकृत छ ।”
भोलिको भेलामा यस क्षेत्रका तीनै तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता,नागरिक अगुवा,उद्योगी,व्यवसायी, समाजसेवी,शिक्षक,पत्रकार लगायत सबै क्षेत्रका व्यक्तिहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।
स्थानीयबासीको धारणा अनुसार राजधानी सार्ने प्रयासले सुदूरपश्चिम प्रदेशको विकास र समान प्रतिनिधित्वमा गम्भीर प्रश्न उठाउनेछ । राजधानी गोदावरीमै कायम गर्न दबाब दिन अब नागरिक स्तरबाट सशक्त आन्दोलन थालिने संकेत आजको पत्रकार सम्मेलनले स्पष्ट पारेको छ ।



