२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

विप्लव–प्रचण्डको साझा स्वर : समाजवादी धुव्रीकरण र नयाँ प्रस्तावको आवश्यकता

काठमाडौँ । नेपालका दुई प्रमुख कम्युनिष्ट नेताहरु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – ले समाजवाद स्थापना गर्न समाजवादी शक्तिहरूको धुव्रीकरण आवश्यक रहेको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौँमा समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा दुवै नेताहरूले विचार मिल्ने कम्युनिष्ट शक्तिहरूबीच एकता, नयाँ प्रस्ताव र घोषणापत्रको खाँचो औंल्याए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले गणतन्त्रको नाममा दलाल प्रवृत्तिहरू मौलाएको टिप्पणी गरे । उनले भने, “गणतन्त्र त आयो, तर झारपातले ढाक्यो । अब गणतन्त्रका फूल खोज्न झार पल्टाउनुपर्ने भएको छ ।” उनका अनुसार दलालहरू, भ्रष्टाचार र विचौलिया प्रवृत्तिका कारण जनता अलमलमा परेका छन् र गणतन्त्रको सार हराउँदै गएको छ ।

विप्लवले समाजवादको बाटोमा अघि बढ्न ‘नयाँ प्रस्ताव’ र ‘नयाँ घोषणापत्र’को आवश्यकता रहेको बताए । उनले भने, “हिजोका दस्तावेजले पुग्दैन । अहिलेको सन्दर्भ अनुसार राजनीतिक,सामाजिक,आर्थिक र सांस्कृतिक क्षेत्रलाई समेट्ने नयाँ दस्तावेज तयार गर्नुपर्छ ।”

उनले शान्तिप्रक्रियापछि कार्यान्वयन हुन नसकेको माओवादी अवधारणालाई पुनः स्मरण गर्दै “कम्युनिकरण र सर्वहाराकरण खै ?”भन्ने प्रश्न उठाए । उनका अनुसार,आजको दलाल व्यवस्था श्रमिक,किसान र जनताको हितमा होइन,साम्राज्यवाद र नोकरशाही पुँजीवादको हितमा सञ्चालित छ ।

त्यस्तै,अध्यक्ष प्रचण्डले पनि समाजवादी शक्तिहरूबीच पार्टी एकता र संयुक्त मोर्चा आवश्यक रहेकोमा जोड दिए ।“दलाल नोकरशाही पुँजीवाद देशको मुख्य दुश्मन हो । यसको विरुद्ध एकताबद्ध संघर्ष गर्नुपर्छ,”उनले भने,“विचार मिल्ने शक्तिहरूबीच वृहत मोर्चा बनाएर अगाडि बढ्नुपर्छ ।”

प्रचण्डले माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलन पुष्पलालको सिद्धान्तको निरन्तरता भएको दाबी गरे । उनले संविधानसभा र गणतन्त्रलाई जनयुद्ध र कम्युनिष्ट आन्दोलनको उपलब्धि भन्दै पुष्पलाललाई सच्चा क्रान्तिकारी विचारकको रूपमा स्मरण गरे ।

दुवै नेताहरूले आजको संकटको समाधान समाजवाद बाहेक अरु केही हुन नसक्ने बताउँदै,त्यसका लागि विचार,मोर्चा, र दृष्टिकोणमा स्पष्टता र नविकरण आवश्यक भएकोमा सहमति व्यक्त गरे ।

महासचिव विप्लवले अन्त्यमा भने,“देशको मालिक श्रमजीवी जनता हुनुपर्छ । त्यसका लागि समाजवादी धुव्रीकरण अनिवार्य छ । एक दिन समाजवादी शक्तिहरू एकताबद्ध भएर विजयी हुनेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?